Trending
News / 27th Jul 2026

दार्जिलिङको शिक्षा सुधारका लागि राज्यका शिक्षामन्त्रीहरूसित भाजपा प्रतिनिधिमण्डलको महत्वपूर्ण बैठक

 दार्जिलिङको शिक्षा सुधारका लागि राज्यका शिक्षामन्त्रीहरूसित भाजपा प्रतिनिधिमण्डलको महत्वपूर्ण बैठक

 

आज दार्जिलिङ जिल्ला भाजपा अध्यक्ष श्री सञ्जीव लामाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले पश्चिम बङ्गाल सरकारका शिक्षामन्त्री माननीय दीपक बर्मन, उच्च शिक्षामन्त्री माननीय जगन्नाथ चट्टोपाध्याय तथा उप शिक्षामन्त्री माननीय कल्याण चौधरीसँग क्रमशः सौहार्दपूर्ण भेटवार्ता गर्दै दार्जिलिङको शिक्षा क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयहरूमा विस्तृत छलफल गरेको छ।

 

शिक्षामन्त्रीसँग सम्पन्न बैठकमा दार्जिलिङको शिक्षा प्रणालीलाई पुनः सुदृढ, आधुनिक र गुणस्तरीय बनाउने उद्देश्यका साथ विभिन्न दीर्घकालीन विषयहरू उठाइएको थियो। प्रतिनिधिमण्डलले निम्न विषयहरूलाई प्राथमिकताका साथ प्रस्तुत गरेको थियो–

 

- रिजनल एसएससीलाई यथाशीघ्र सञ्चालनमा ल्याउने।

- पहाडी क्षेत्रका मान्यता प्राप्त १४ वटा जुनियर हाई स्कूललाई पूर्ण रूपमा सञ्चालन गर्ने।

- विगतका शिक्षक नियुक्तिसम्बन्धी विषयहरूको समाधान।

- दार्जिलिङका विभिन्न विद्यालयमा रिक्त रहेका विषयगत शिक्षक पदहरूको स्वीकृति।

- डाइड-इन-हार्नेस नियुक्ति प्रक्रिया।

- ग्रुप ‘सी’ र ग्रुप ‘डी’ पदमा भर्ती प्रक्रिया अघि बढाउने।

- घुम–जोरबङ्गलो कलेजलाई सरकारी मान्यता प्रदान गर्ने।

- दार्जिलिङ हिल विश्वविद्यालयसँग सम्बन्धित विविध विषय तथा समस्याहरूको समाधान।

- डाउहिलस्थित प्रेसीडेन्सी कलेजको क्षेत्रीय निकाय स्थापना गर्ने।

 

बैठकका क्रममा राज्य सरकारका मन्त्रीहरूले यी सबै विषयलाई गम्भीरतापूर्वक लिएर आवश्यक पहल गर्दै यथाशीघ्र कार्यान्वयनतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

उच्च शिक्षामन्त्री माननीय जगन्नाथ चट्टोपाध्यायले दार्जिलिङ एक समय शिक्षा क्षेत्रको प्रतिष्ठित केन्द्र रहेको स्मरण गराउँदै त्यस गौरवलाई पुनःस्थापित गर्न राज्य सरकार प्रतिबद्ध रहेको बताए। साथै, वर्तमान समयको आवश्यकता अनुरूप आधुनिक र रोजगारमुखी विषयहरू समावेश गरी शिक्षा प्रणालीलाई प्रविधिमैत्री र प्रतिस्पर्धात्मक बनाइने विश्वास व्यक्त गरे।

 

प्रतिनिधिमण्डलले दार्जिलिङलाई शैक्षिक पर्यटन (Educational Tourism) को केन्द्रका रूपमा विकास गर्ने विषयमा पनि विशेष जोड दिएको थियो। यस सम्बन्धमा मन्त्रीहरूसँग सकारात्मक र फलदायी छलफल भएको जानकारी दिइएको छ।

 

बैठकपछि जिल्ला अध्यक्ष श्री सञ्जीव लामाले दार्जिलिङको उज्ज्वल भविष्य शिक्षासँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै वर्तमान युवा पुस्ताप्रति विश्वास व्यक्त गरे। विगतका विभिन्न परिस्थितिका कारण दार्जिलिङको शैक्षिक वातावरणमा आएको ह्रासप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई पुनर्जीवित गर्न सबै पक्षबीच समन्वय र प्रतिबद्ध प्रयास आवश्यक रहेको उनले बताए।

 

यस भेटवार्ताले दार्जिलिङको शिक्षा क्षेत्रको समग्र विकास, आधुनिकीकरण तथा नयाँ अवसरहरूको सिर्जनाका लागि सकारात्मक सुरुवात गरेको विश्वास व्यक्त गरिएको छ।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI