Trending
News / 24th Nov 2023

फुटबलमा सफल, राजनीतिमा असफल भाइचुङ भोटिया एसडीएफमा

न्युज एक्पोज 365 डेजस् 24 नोभेम्बर 2023 (सञ्जय शाशंकर )

विपक्षीको पोस्टमा गोल छिपाउनमा खप्पीस खेलाड़ी थिए भाइचुङ भोटिया। भारतीय फुटबल जगतको एक सफल अधिनायक एवं सफल फुटबलर हुन् भाइचुङ भोटिया। तर राजनैतिक जगतमा उनी अहिलेसम्म सफल बन्न सकेका छैनन्। फुटबलबाट अवसर लिएपछि एक सफल राजनैतिक नेता भन्ने उनको सपना भने अझै पनि अधुरो रहेको छ। भाइचुङ भोटिया सन् 2014 मा पहिलोचोटि बंगालको राजनीतिमा आए। तृणमूल कांग्रेसमा सामेल भएपछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिङ लोकसभाको आसनबाट उनलाई आफ्नो पार्टीको प्रार्थी बनाइन्। प्रथम पाइलामै असफल बने भाइचुङ भोटिया। आफ्नो प्रतिद्वन्द्वी भाजपा प्रार्थी एसएस अहलुवालियासँग नराम्रो घतले हार्नु पऱ्यो।
दुइ वर्षपछि अर्थात सन् 2016 मा फेरि भाइचुङ भोटियालाई विधानसभा चुनाउमा सिलगढ़ी विधानसभा आसनको प्रार्थीको रूपमा खड़ा गराइन्। त्यस चुनाउमा उनले आफ्नो बलबुतामा चुनाउ लड़्न परेको थियो। किनभने स्थानीय तृणमूल कांग्रेसका नेताहरू उनलाई सिलगढ़ीबाट खड़ा गरिएकोमा खुशी थिएनन्। आफ्नो पार्टी सुप्रिमो ममता ब्यानर्जीलाई देखाउनको निम्ति मात्र त्यस चुनाउमा सिलगढ़ीका तृणमूल कांग्रेसका नेताहरू भाइचुङ भोटियाको चुनाउ प्रचारमा निस्कने गरेका थिए। स्थानीय पार्टी कार्यकर्ताहरू धोका दिएपछि उनी यहाँ पनि आफ्नो प्रतिद्वन्द्वी राज्यको पूर्व नगरविकास मन्त्री अशोक भट्टाचार्यसँग नराम्रो घतले हारे। 
यसरी राजनैतिकको मैदानमा दुइपल्ट गोल गर्न असफल भएपछि उनी बंगालको राजनैतिकदेखि टाड़िए। सफल राजनैतिक गोरेटोको खोज्न अन्तमा भाइचुङ आफ्नै मुलुक सिक्किम फर्के। सन् 2019 मा त्यहाँ विधानसभा चुनाउ हुनु थियो। अनि त्यसै मौकामा आफ्नो राजनैतिक भविष्य चम्काउन सक्ने आशा लिएर सन् 2018 मा उनले आफ्नै राजनैतिक पार्टीको निर्माण गरे। जसको नाम थियो हाम्रो सिक्किम पार्टी। तत्कालिन सत्तारूढ़ पार्टी सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) साथै पार्टी सुप्रिमो पवन कुमार चामलिङसँग उनको राम्रो सम्बन्ध थिएन। र चुनाउमा उनैको विरोधमा मैदानमा उत्रे। वर्तमान सत्तारूढ़ पार्टी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) सँग सम्बन्ध राखेर चुनाउ लड़े। त्यहाँ पनि उनी नराम्रै घतले हारे। राजनैतिकमा यसरी लगातार विफल बन्दै गएपछि आफ्नो पार्टीलाई पनि थाँतीमा राखेर चुपचाप बसे। एसकेएम सत्तामा आएपछि एसकेएमसँग पनि उनले कहिले सम्बन्ध बनाएनन्। भाइचुङ भोटिया कुनै पनि सत्ताको अघि कहिल्यै हात नफैलाउने स्वभावका व्यक्ति हुन्। फुटबल जगतमा पनि उनले खेल्नको निम्ति अरूको अघि कहिल्यै हात फैलाउन परेका थिएन। किनभने उनी आफै एक सफल फुटबल खेलाड़ी थिए। 
राजनीतिको यो निरन्तर असफलपछि अब त अवश्यै सफल बन्न सक्छु भन्ने सपना बोकेर फेरि एकपल्ट राजनैतिक चहलपहलमा उत्रे भाइचुङ भोटिया। राजनैतिक युद्ध लड़्न यसपल्ट भने आफ्नो पार्टी हाम्रो सिक्किम पार्टीमाथि नै भरोसा नभएपछि यसको अस्तित्व नै मेटाउँदै राज्यमा 25 वर्ष शासन चलाइसकेको एसडीएफ पार्टीको हात समाएका छन्। गत 23 नोभेम्बर 2023 मा एउटा जनसभाबीच दलबल सहित उनले त्यस दिन पूर्व मुख्यमन्त्री एवं एसडीएफ पार्टी अध्यक्ष पवन कुमार चामलिङको बाहुलीबाट एसडीएफको झण्डा पक्रेका छन्। आउँदो वर्ष सन् 2024 मा सिक्किममा विधानसभा चुनाउ छ। यसैलाई मध्यनजर राख्दै भाइचुङ भोटियाले राजनैतिक परिवर्तन गरी यसपटक भने पक्कै विपक्षी पोस्टमा गोल गर्न सक्षम बन्ने आशा साँचेका छन्। 
सिक्किम विधानसभा चुनाउमा यसपाली सत्तारूढ़ पार्टी एसकेएमलाई भने त्यति सञ्चो छैन। राज्यमा भ्रष्टाचार लगायत विभिन्न मुद्दाहरूलाई लिएर विपक्षी पार्टी एसडीएफले कठोर आवाज उठाएको छ। विशेष संवैधानिक प्रावधानहरूको मुद्दा, सिटिजनशीप एमेण्डमेण्ड एक्ट (सीएए) को मुद्दा, एनआरसी-को मुद्दा लगायत वन नेशन वन राशन कार्ड, कम्पनी (संशोधन) ऐन 2019, मोटर भेकल्क (संशोधन) ऐन 1988, रेजिस्ट्रेशन अफ बर्थ एण्ड डेथ (एमेण्डमेण्ड) एक्ट आदि मुद्दाहरूरको उठान गर्दै विपक्षी पार्टी एसडीएफले यसपाली सत्तारूढ़ पार्टी एसकेएमलाई चुनाउ निक्कै चुनौती दिने भएको छ। पुनः सत्तामा फर्की आउने आशा एसडीएफले राखेको छ। तर सिक्किमको राजनैतिक इतिहासमा एकपल्ट सत्ताच्युत भएको सत्तारूढ़ पार्टी पुनः आएको छैन। यो इतिहासलाई मेटाउने प्रयासमा छ एसडीएफ पार्टी। यसैले भाइचुङ भोटियाले यस पार्टीको हात समाइ आफ्नो सफल राजनैतिक जीवन शुरू गर्न चाहेका छन्। उनी प्रार्थी भएर चुनाउ मैदानमा उत्रेपछि उनको यो सपनालाई साकार तुल्याउनमा जनताले कति साथ देला सन् 2024 को चुनाउले बताउला।

Leave a comment

Newsletter

Email subscription is an opportunity to receive an interesting newsletter from our website

Trending

We are not about too much noise and too little content. We are about in-depth information and analysis on all issues and developments in society and in the field of art, culture, sports, read more

© All Rights Reserved. Designed by NETDEMI